लोड हुँदैछ...

मेनु

बर्डफ्लु त्रास : लेटाङमा पन्छीजन्य वस्तु आयातमा रोक, विपद् र सडक सुरक्षामा पनि विशेष तयारी

बर्डफ्लु त्रास : लेटाङमा पन्छीजन्य वस्तु आयातमा रोक, विपद् र सडक सुरक्षामा पनि विशेष तयारी

लेटाङ / छिमेकी पालिका सुन्दरहरैंचा र उर्लाबारीमा बर्डफ्लु (H5N1) संक्रमण पुष्टि भएसँगै लेटाङ नगरपालिकाले स्वास्थ्य सुरक्षा र विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै एकैपटक कडा तयारी थालेको छ। नगर विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले (हिजो) बुधबारदेखि लागू हुने गरी ७ दिनसम्म पन्छीजन्य सामग्री आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

निर्णयअनुसार अब बाहिरबाट कुखुरा, चल्ला, अण्डा, हाँस र परेवा लगायतका पन्छीजन्य वस्तु लेटाङ भित्र्याउन पाइने छैन। नगरभित्र हालसम्म संक्रमण नदेखिएकाले स्थानीय फार्म र फ्रेस हाउस सञ्चालनमा भने रोक लगाइएको छैन। तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै अनुगमनलाई कडाइ गरिने र सम्बन्धित संयन्त्रलाई सक्रिय बनाइने नगरपालिकाले जनाएको छ।

बर्डफ्लुको जोखिमसँगै नगरपालिकाले मनसुनजन्य विपद् र सडक सुरक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ। वर्षायाममा चिसाङ, तेली र मोरङ्गी खोलामा आउन सक्ने बाढी तथा कटान रोक्न प्राथमिकताका आधारमा तटबन्ध र स्पर निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।
यस्तै, सम्भावित प्राकृतिक प्रकोपका बेला तत्काल उद्धार तथा व्यवस्थापन सहज बनाउन उच्च जोखिमयुक्त समयमा एस्काभेटर र अपरेटरलाई ‘स्ट्यान्डबाइ’ अवस्थामा राख्ने व्यवस्था मिलाइने भएको छ। सडक आसपासका रूखका हाँगाबाट हुन सक्ने दुर्घटना रोक्न डिभिजन वन कार्यालयसँग समन्वय गरेर कटान कार्य अघि बढाइने निर्णय पनि बैठकले गरेको छ।

मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधीन सडक खण्डमा दुर्घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निर्माण व्यवसायी र आयोजना कार्यालयको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ। त्यस्तै, वडा नं. १ र ६ को पाटीखेत–बगुवा क्षेत्रमा झोलुङ्गे पुल निर्माण प्रक्रिया अघि बढाउन प्रदेश सरकारसँग अनुरोध गर्ने सहमति पनि बैठकले जुटाएको छ।

नगरपालिकाले यी सबै निर्णयलाई प्रभावकारी बनाउन वडा कार्यालय, वन कार्यालय र सुरक्षा निकायसँग समन्वय गरेर कार्यान्वयन गरिने जनाएको छ। साथै, स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन, बाहिरबाट पन्छीजन्य सामग्री ल्याउन रोक लगाइएको निर्णय पालना गर्न र विपद् सम्बन्धी सूचनाप्रति सचेत रहन अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।