काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भए पनि डा. सुनिल शर्मा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र छलफलमा सक्रिय भएका छन्।यसैक्रममा उनले मकवानपुरको हेटौँडा बजार पुगेर जिल्लाका अग्रज नेता तथा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्दै राजनीतिक विषयमा चासो र चिन्ता व्यक्त गरेका छन्।
महामन्त्री पदको निर्वाचनमा ५३ मतको झिनो अन्तरले पराजित भएका शर्मा पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्धलाई निरन्तरता दिँदै विभिन्न जिल्लामा भेटघाटमा जुटेका हुन्। हेटौँडामा भएको भेटघाटमा जिल्लाका अग्रज नेता तथा कार्यकर्तासँग पार्टीको अवस्था, संगठन र आगामी राजनीतिक यात्रालगायतका विषयमा छलफल भएको छ।
डा. शर्मा नेपाली कांग्रेसमा लामो समयदेखि आबद्ध नेता हुन्। उनी २०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। पार्टीको १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा समेत काम गरेका शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी हाल गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापतिसमेत हुन्।
राजनीतिसँगै स्वास्थ्य सेवामा पनि सक्रिय शर्मा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य सेवा तथा विपन्न र असहाय बिरामीको उपचारमा संलग्न रहँदै आएका छन्। उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई चिकित्सा शिक्षामा अवसर उपलब्ध गराउने कार्यमा समेत लगानी गर्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका शर्माले पार्टीभित्रको नेतृत्व, संगठन र नेता–कार्यकर्ताबीचको सम्बन्धलाई आफ्नो राजनीतिक प्राथमिकताका रूपमा उठाउँदै आएका थिए। निर्वाचन परिणामपछि पनि उनी नेता तथा कार्यकर्तासँगको संवादमा सक्रिय देखिएका छन्। हेटौँडामा अग्रज नेता तथा कार्यकर्तासँगको भेटघाटलाई पनि उनले पार्टीका साथीहरूसँगको सम्बन्धलाई निरन्तरता दिने र राजनीतिक छलफल अघि बढाउने क्रमका रूपमा लिएका छन्।


प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।