विराटनगर / शैलजा आचार्य कोशी प्रादेशिक अस्पताल तथा हृदय रोग केन्द्र, विराटनगरमा आकस्मिक (इमर्जेन्सी) सेवा शुभारम्भ गरिएको छ। कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानवबहादुर लिम्बू को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा स्वास्थ्य सचिव यदु चन्द्र घिमिरे ले अध्यक्षता गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले हृदय रोग विश्वकै प्रमुख स्वास्थ्य चुनौतीमध्ये एक बनेको उल्लेख गर्दै नेपालमा पनि मुटुसम्बन्धी समस्या भएका बिरामीको संख्या बढ्दै गएकाले समयमै आकस्मिक उपचार सेवा उपलब्ध गराउनु आवश्यक रहेको बताए। उनले शैलजा आचार्य हृदय रोग केन्द्रमा आकस्मिक सेवा सञ्चालन हुनु कोशी प्रदेश सरकारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट मुटुसम्बन्धी जटिल समस्या भएका बिरामीले छिटो, सहज र प्रभावकारी उपचार पाउने विश्वास व्यक्त गरे।
मन्त्री लिम्बुले कोशी प्रादेशिक अस्पताल पूर्वी नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित रहेको बताउँदै आकस्मिक सेवाको विस्तारले प्रदेशवासीलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने धारणा राखे। साथै स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति व्यवस्थापन, अत्याधुनिक उपकरणको उपलब्धता र सेवा विस्तारका लागि प्रदेश सरकार निरन्तर लागिपरेको उनले बताए।
कार्यक्रममा केन्द्रको स्थापना तथा सेवा विस्तारमा योगदान पुर्याउने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै नवशुभारम्भ गरिएको सेवाले नागरिकको जीवन रक्षा तथा स्वास्थ्य सेवाप्रतिको विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।