काठमाडौं / आगामी साता अर्थात २०२६ फिफा विश्वकप जुन ११ मा सुरु हुँदैछ। यो महान खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको लागि अन्तिम विश्वकप हुने अपेक्षा गरिएको छ। मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्ने प्रयास गर्नेछ भने रोनाल्डो पनि विश्व बिजेता बन्ने होडमा रहेका छन् ।

अमेरिका, मेक्सिको र क्यानडमा हुन गइरहेको यो विश्वकपमा पहिलो पटक ४८ टोलीले भाग लिदैँछन । उसो भए हामी तपाईंलाई विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने पाँच खेलाडीहरूको नाम बताउँछौं।
मिरोस्लाभ क्लोसः जर्मनीका स्टार खेलाडी क्लोस फिफा विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता हुन्। उनले २००२ देखि २०१४ सम्म चार विश्वकपमा भाग लिएका थिए, २४ खेलमा कुल १६ गोल गरेका थिए। क्लोसले २००२ र २००६ मा पाँच–पाँच, २०१० मा ४ र आफ्नो अन्तिम विश्वकपमा दुई गोल गरेका थिए।
रोनाल्डोः ब्राजिलका लागि खेल्ने रोनाल्डो फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। ‘द फेनोमेनन’ भनेर चिनिने रोनाल्डोले १९९४ देखि २००६ सम्म कुल १५ गोल गरेका थिए। उनले यो उपलब्धि केवल १९ खेलमा हासिल गरेका थिए। २००२ को विश्वकपमा रोनाल्डोले ब्राजिलको जितमा महत्वपूर्ण भूमिका खेल्दै ८ गोल गरेका थिए।
जस्टन फन्टेनः यस फ्रान्सेली खेलाडीले १९५८ को विश्वकपमा एउटा यस्तो कीर्तिमान बनाएका थिए, जुन तोड्न अत्यन्तै गाह्रो देखिन्छ। जस्टनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे, एक्लैले एउटै विश्वकपमा १३ गोल गरेका थिए । सबैभन्दा महत्त्वपूर्ण कुरा उनले यो उपलब्धि केवल ६ खेलमा हासिल गरेका थिए। यो कीर्तिमान आजसम्म पनि अटुट रहेको छ।
लियोनेल मेस्सीः अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकपको उपाधि दिलाउने लियोनेल मेस्सी फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा चौथो स्थानमा छन्। मेस्सीले २००६ देखि २०२२ सम्मको विश्वकपमा कुल १३ गोल गरेका छन्। कतारमा भएको पछिल्लो विश्वकप मेस्सीका लागि अविस्मरणीय रह्यो किनकि उनले यस विश्वकपमा ७ गोल गरेका थिए र अर्जेन्टिनाको उपाधि जित्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेका थिए।
केलियन एमबाप्पेः अर्जेन्टिनाले कतारमा भएको पछिल्लो विश्वकप जिते पनि एमबाप्पे सबैभन्दा बढी चर्चामा आएका खेलाडी थिए। फाइनलमा उनको प्रदर्शनले उनका विपक्षीहरूलाई पनि मोहित बनायो। उनले अहिलेसम्म १४ विश्वकप खेलमा १२ गोल गरिसकेका छन्। गत विश्वकपमा एमबाप्पेले ८ गोल गरेका थिए र उनले गोल्डेन बुट पनि जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।