लोड हुँदैछ...

मेनु

दुई मात्र विश्वकप जितेको उरुग्वेको जर्सीमा कसरी रहयो ४ तारा, रोचक इतिहास जान्नुहोस

दुई मात्र विश्वकप जितेको उरुग्वेको जर्सीमा कसरी रहयो ४ तारा, रोचक इतिहास जान्नुहोस

काठमाडौं /  फिफा विश्वकप १९३० मा सुरु भएको थियो। यो प्रतियोगिता उरुग्वेले आयोजना गरेको थियो र उरुग्वेले नै पहिलो उपाधि जितेको थियो तर सो टोलीले १९३४ र १९३८ मा भाग लिन अस्वीकार गरेको थियो।

र, पछि फेरी १९५० मा उरुग्वे फेरि विश्व च्याम्पियन बनेको थियो। त्यसबेला देखि टोलीले उपाधि जित्न सकेको छैन तर १९५४, १९७० र २०१० मा टोली भने सेमिफाइनलसम्म पुगेको थियो। यसपछि पनि उरुग्वेको फुटबल टोलीको जर्सीमा अझै पनि चार ताराहरू छन्।

फुटबलमा कुनै पनि टोलीले जितेको फिफा विश्वकपको संख्यामा उसको खेलाडीको जर्सीमा त्यति नै ताराहरू हुन्छन्, जतिपटक उसले जितेको छ । तर उरुग्वेले जम्मा २ फिफा विश्वकप जितेको छ तर टोलीको जर्सीमा चार ताराहरू रहेका छन्।

र, खासमा उरुग्वेले १९२४ र १९२८ मा आयोजित ओलम्पिक खेलहरूमा स्वर्ण पदक जितेको थियो। फिफासँगै विश्वभरका फुटबल संघहरूले पेरिस १९२४ र एम्स्टर्डम १९२८ ओलम्पिकमा आयोजित फुटबल प्रतियोगिताहरूलाई खुला विश्व च्याम्पियनशिपको रूपमा मान्यता दिएका थिए, जसका कारण उरुग्वेको जर्सीमा ४ ताराहरू छन्।

तर, २०२२ को विश्वकप अघि उरुग्वेलाई फिफाले आफ्नो जर्सीबाट दुई तारा हटाउन आग्रह गरेको थियो। उरुग्वेली फुटबलले विभिन्न इतिहासकार र प्रारम्भिक कागजातहरू प्रयोग गरेर आफ्ना ताराहरूको वैधताको समर्थनमा तर्कहरू विकास गरेको थियो। यो तर्क फिफा समक्ष प्रस्तुत गरिएको थियो र पछि फिफाले आफ्नो अनुरोध फिर्ता लिएको थियो । र त, २०२६ को फिफा विश्वकपमा पनि उरुग्वेका खेलाडीहरूको जर्सीमा चार ताराहरू नै हुनेछन्।

दक्षिण अमेरिकी देश उरुग्वे हाल २०२६ फिफा विश्वकपको लागि समूह ‘एच’ मा स्पेन, केप भर्डे र साउदी अरेबियासँगै रहेको छ। उरुग्वेले जुन १५ मा प्रतियोगिताको १३ औं खेलमा मात्र मैदान उत्रनेछ। उनीहरूले मियामीको हार्ड रक स्टेडियममा साउदी अरेबियाको सामना गर्नेछ । सोही स्थानमा टोलीले जुन २१ मा केप भर्डे र जुन २६ मा स्पेनको सामना गर्ने तय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।