लोड हुँदैछ...

मेनु

प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै

प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्दै

काठमाडौं / दीर्घकालीन लगानीका अवसर विस्तार गर्ने उद्देश्यसहित प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याउने भएको छ। बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक १० वर्षे अवधिको ऋणपत्र असार १६ गतेदेखि बिक्री खुला गर्न लागेको हो।

प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि कुल ३ अर्ब रुपैयाँबराबरको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ। सार्वजनिक निष्कासनअन्तर्गतको कुल कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। बैंकका अनुसार इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा आवेदन दिन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत व्यवस्था गरिएको छ। निष्कासन छिटोमा असार १९ गते बैंकिङ समयपछि बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा असार ३० गतेसम्म खुला रहनेछ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट असार ३ गते ऋणपत्र निष्कासनका लागि आवश्यक अनुमति प्राप्त गरेको थियो।

बैंकले स्थिर प्रतिफल खोज्ने लगानीकर्तालाई लक्षित गर्दै दीर्घकालीन लगानी साधनका रूपमा यो ऋणपत्र बजारमा ल्याउन लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।