लोड हुँदैछ...

मेनु

बाल्मिकी सोलो डान्सिङ आइडलमा डोल्माको बाजी

बाल्मिकी सोलो डान्सिङ आइडलमा डोल्माको बाजी

पथरी / पथरी शनिश्चरे–२ स्थित बाल्मिकी मेमोरियल आवासीय माध्यमिक विद्यालयमा बालिकाको नृत्य प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रथम बाल्मिकी सोलो डान्सिङ आइडलको उपाधि डोल्मा तामाङले जितेकी छन् ।

६२औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको शुक्रबार विद्यालय परिसरमा सम्पन्न ग्राण्ड फिनालेमा डोल्माले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेकी हुन् । कक्षा ४ देखि ७ सम्म अध्ययनरत छात्राबीच भएको प्रतियोगितामा प्रारम्भिक चरण पार गर्दै टप टेनमा पुगेका प्रतिस्पर्धीमध्येबाट फिनालेमा उत्कृष्ट प्रदर्शन गर्ने आधारमा विजेता छनोट गरिएको थियो । प्रतियोगिताले बालबालिकाभित्र रहेको प्रतिभालाई मञ्च प्रदान गर्नुका साथै उनीहरूमा आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा समेत सहयोग पुर्‍याएको विद्यालयले जनाएको छ ।

फिनालेमा समृद्धि तिवारी फस्ट रनरअप, प्रमिसा तामाङ सेकेन्ड रनरअप तथा क्रिष्टिना तामाङ र अर्पना श्रेष्ठ थर्ड रनरअप घोषित भए । उपाधिसँगै डोल्माले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । फस्ट रनरअप समृद्धिले ८ हजार, सेकेन्ड रनरअप प्रमिसाले ६ हजार तथा थर्ड रनरअप क्रिष्टिना र अर्पनाले ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

बाल दिवसको अवसरमा आयोजित प्रतियोगिताले पढाइसँगै बालबालिकाको कला, प्रतिभा र रुचिलाई प्रोत्साहन गर्नुपर्ने सन्देशसमेत दिएको छ । विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै विद्यार्थीको बहुआयामिक विकासमा जोड दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।