पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चार क्षेत्रमार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै नगरमा क्रियाशील दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आयोजना गरेको ‘पथरी शनिश्चरे लेखमाला–१ लोकार्पण, पुरस्कार तथा सम्मान कार्यक्रममा उत्कृष्ट सञ्चार माध्यमतर्फ सेवारो पोष्ट अनलाइनका प्रकाशक तथा सम्पादक फिपराज बेघालाई सम्मान गरिएको छ भने क्रियाशील पत्रकारतर्फ प्रेम केडी भट्टराई पुरस्कृत भएका छन् ।
नगरपालिकाका सूचना सम्पादक सन्तोष राईका अनुसार पत्रकार बेघालाई सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ तथा पत्रकार भट्टराईलाई सम्मानपत्रसहित नगद १५ हजार रुपैयाँ प्रदान गरिएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्बापोले लेखनवृत्ति छनोट समितिका संयोजक जीवन खतिवडा, नगर प्रवक्ता नवीनजङ कार्की, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई तथा वडा नम्बर ७ का वडाध्यक्ष उद्धवराज बस्नेतलगायतको उपस्थितिमा सो सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सोही अवसरमा नगरभित्र रहेर विभिन्न क्षेत्रमा क्रियाशील १० जना सञ्चारकर्मीले लेखेका अनुसन्धानमूलक तथा विश्लेषणात्मक लेखहरूको सङ्ग्रह ‘पथरी शनिश्चरे लेखमाला भाग–१’ समेत लोकार्पण गरिएको छ । पुस्तकमा नगरको शिक्षा, स्वास्थ्य, कृषि, साहित्य, कला, खेलकुद, जनसङ्ख्या, बसाइँसराइ, आप्रवासन, रेमिट्यान्स, सिमसार संरक्षण तथा लागूऔषध दुव्र्यसनजस्ता विविध विषयमा आधारित खोजमूलक लेखहरू समेटिएका छन् ।
नगरपालिकाले स्थानीय विषयवस्तुको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा योगदान पुर्याउने उद्देश्यले लेखमाला प्रकाशनको सुरुवात गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।