लेटाङ / स्थानीय उद्यमलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन वृद्धि, गुणस्तर सुधार र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले लेटाङ नगरपालिकाले १२ जना लघु उद्यमीलाई आधुनिक मेसिन तथा उपकरण हस्तान्तरण गरेको छ।
नगरपालिकाको प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत उद्यमको प्रकृति र आवश्यकता मूल्याङ्कनका आधारमा ५० देखि ८० प्रतिशतसम्म अनुदानमा विभिन्न आधुनिक उपकरण उपलब्ध गराइएको हो। नगरपालिकाका अनुसार यस कार्यक्रमले परम्परागत उद्यमलाई प्रविधिमैत्री बनाउँदै स्थानीय उत्पादनलाई थप प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

उपकरण हस्तान्तरण कार्यक्रममा नगरप्रमुख भुपेन्द्रकुमार लावतीले स्थानीय स्रोत, साधन, श्रम र सीपको अधिकतम उपयोग गर्दै उद्यमशीलतालाई आधुनिक प्रविधिसँग जोड्नु नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। आधुनिक उपकरणको प्रयोगले उत्पादन क्षमता र गुणस्तरमा वृद्धि हुनुका साथै उत्पादन लागत घट्ने, बजार प्रतिस्पर्धा बढ्ने र उद्यमीहरूको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो।
कार्यक्रमअन्तर्गत सुस्मा श्रेष्ठ (सुस्मा ब्युटी पार्लर) लाई हाइड्रा फेसियल मेसिन, सम्झना श्रेष्ठ (पाथीभरा कृषि फार्म) लाई कुखुरा पालनका लागि सिलिङ म्याट र अटो ड्रिङ्कर, राधा दाहाल (हातेमालो कृषि पशुपन्छी ह्याचरी फार्म) लाई मह प्रशोधन मेसिन, करिश्मा श्रेष्ठ (उर्बर कफी तथा कृषि फार्म) लाई कफी पल्पिङ मेसिन, कफी मोइस्चराइजर मेसिन र होल डिगर, इन्द्रा तिम्सिना (अमृत गाउँले दालमोठ भुजिया) लाई निम्की बनाउने मेसिन, उत्तम श्रेष्ठ (लेटाङ खाद्य उद्योग) लाई प्याडी क्लिनर सेट, नगेन्द्रप्रसाद घिमिरे (साना किसान कृषि सहकारी संस्था लिमिटेड) लाई दूध पाश्चराइजिङ तथा प्याकेजिङ मेसिन, डिल्लीराम जमरकट्टेल (सम्पन्न सन्दिपा कुटानी पिसानी मिल) लाई मिलको जातो, ज्ञानीकुमारी ठकुरी (ज्ञानी कुटानी पिसानी मिल) लाई पिठो मिल र मोटरसहित धान मिल, प्रेमप्रसाद दाहाल (दाहाल कृषि फार्म) लाई मिनी ट्र्याक्टर, गुणमाया खत्री (जी.एस. अर्गानिक कृषि फार्म) लाई पेलेट दाना बनाउने मेसिन तथा तारा चर्मकार (अम्बिका ट्रेडर्स लघु उद्यम) लाई इन्टरलक मेसिन र विद्युतीय सिलाइ मेसिन हस्तान्तरण गरिएको छ।
पकरण प्राप्त गरेका उद्यमीहरूले आधुनिक प्रविधिको प्रयोगले उत्पादन क्षमता विस्तार, श्रम तथा उत्पादन लागतमा कमी, उत्पादनको गुणस्तरमा सुधार र व्यवसाय विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
लेटाङ नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय उद्यमशीलताको विकास, स्वरोजगार प्रवर्द्धन, उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।