लोड हुँदैछ...

मेनु

स्वास्थ्य चौकीबाट नगर अस्पताल, जसले गरिरहेको छ धेरैको भरथेक 

स्वास्थ्य चौकीबाट नगर अस्पताल, जसले गरिरहेको छ धेरैको भरथेक 

पथरी / थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको छैन ।

केही वर्षअघिसम्म हुन्थ्यो त, उनले चर्को ब्याजमा ऋण काढेर धरान वा विराटनगरका ठूला अस्पतालमा विशेषज्ञ चिकित्सकलाई देखाउन जानु पर्थो तर अहिले समय बदलिएको छ ।

महिनाको कम्तीमा एक पटक १० किलोमिटरको दूरी पार गरेर जब मण्डल ’पथरी नगर अस्पताल’ आइपुग्छन्, उनले ओखतीसँगै आत्मिय भरोसा पनि पाउँछन्। नेपाल सरकारको स्वास्थ्य बिमामार्फत न्यून शुल्कमै औषधि र परीक्षण पाइरहेका मण्डल भन्छन्  ‘मैले विराटनगर वा धरान जानुपर्ने भए यो महँगीमा खर्चले कहाँ पु¥याउनु ? अहिले त आफ्नै आँगनमा अस्पताल आएको एको छ’ ।

मण्डल मात्र होइन, पथरीशनिश्चरे–२ का नवीन ढकालको अनुभव पनि उस्तै छ । आफ्नै घरअगाडि सुविधासम्पन्न अस्पताल बनेपछि उपचारका लागि अन्यत्र भौंतारिनुपर्ने सास्ती सदाका लागि अन्त्य भएको उनी बताउँछन् । सामान्य मात्र होइन, कतिपय जटिल रोगको उपचारमा समेत यो अस्पताल स्थानीयको बलियो सहारा बनेको ढकालको अनुभव छ ।

सुरज र नवीन त प्रतिनिधि पात्र मात्र हुन्। कुनै समय सामान्य उपचारका लागि पनि त ठूला सहर कुद्नुपर्ने पूर्वी मोरङका हजारौँ नागरिकका लागि आज पथरी नगर अस्पताल भरोसा र आशाको एउटा बलियो केन्द्र बनेको छ ।

जब स्थानीय समाजसेवी बाबुराम राईले आफ्नो स्वामित्वमा रहेको ६ कठ्ठा जग्गा अस्पतालका नाममा दान गर्ने निर्णय गरे, त्यतिबेला धेरैलाई लागेको थिएन— यो माटोले एकदिन हजारौँ विपन्नको आँसु पुछ्नेछ। तर आज, राईले रोपेको त्यही परोपकारको जगमा उभिएको ’पथरी नगर अस्पताल’ पूर्वी मोरङकै स्वास्थ्य सेवाको एउटा बलियो खम्बा बनेको छ । राई मात्र होइन स्थानियहरुले दान गरेको करिव जग्गामा बनेको अस्पतालले अहिले धेरैको स्वास्थ्य समस्या समाधान गरिरहेको छ ।

आखिर कसरी सम्भव भयो त यो रूपान्तरण : यसको एउटा ऐतिहासिक पृष्ठभूमि छ ।

२०७५ सालको पाँचौँ नगरसभाले साविकको पथरी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको थियो। स्थानीय सरकारको त्यही दृढ इच्छाशक्ति र निर्णयबाट पाँच शैयाको अस्पतालका रूपमा सुरु भएको यात्रा आज सुविधासम्पन्न ’पथरी नगर अस्पताल’ का रूपमा विकसित भएको छ।

सुरुवाती वर्षमा वार्षिक करिब ७ हजार बिरामीले सेवा लिएको अस्पतालले अहिले स्वास्थ्य सेवामा नयाँ उचाई थपेको छ। चालु आर्थिक वर्ष २०८३ को जेठ मसान्तसम्म मात्रै १ लाख २२ हजारभन्दा बढी बिरामीले यहाँबाट सेवा लिइसकेका छन्। हरेक वर्ष २० देखि २५ प्रतिशतका दरले बिरामीको संख्या बढ्दै जानुले अस्पतालप्रतिको जनविश्वास निरन्तर प्रगाढ बन्दै गएको पुष्टि गर्छ ।

अस्पतालले अन्य सरकारी स्वास्थ्य संस्थाभन्दा फरक र जनमुखी पहिचान बनाएको छ। विगत चार वर्षदेखि यहाँ बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म नियमित ओपीडी सेवा सञ्चालन भइरहेको छ। यसले गर्दा विद्यार्थी, सरकारी कर्मचारी, व्यवसायी तथा दैनिक ज्यालादारीमा व्यस्त रहने नागरिकलाई आफ्नो समय मिलाएर उपचार गराउन ठूलो सुविधा मिलेको छ। अहिले अस्पतालमा तीन जना पूर्णकालीन चिकित्सक २४ सै घण्टा उपलब्ध छन् भने दन्त चिकित्सकसहित ६३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी अहोरात्र सेवामा खटिएका छन्।

पथरी नगर अस्पतालले भूगोलको सीमाना भत्काउँदै आफ्नो सेवाको दायरालाई निकै फराकिलो बनाएको छ। हिजोका दिनमा एउटा सामान्य एक्स–रे वा भिडियो एक्स–रे गर्नका लागि पनि यहाँका बिरामीले कि त निजी क्लिनिकको चर्को शुल्क तिर्नुपथ्र्यो, कि त विराटनगर–धरानका अस्पताल पुग्नुपर्ने बाध्यता थियो। तर, आज अस्पतालभित्रै उपलब्ध अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, भिडियो एक्स–रे र मुटुको जाँच गरिने इकोकार्डियोग्राम सेवाले स्थानीयलाई आफ्नै घरआँगनमा ’कर्पोरेट’ स्तरको प्रविधि उपलब्ध गराएको छ।

अस्पतालले २४ सै घण्टा उपलब्ध गराउने आकस्मिक सेवा, सुरक्षित प्रसूति सेवा, सुरक्षित गर्भपतन तथा परामर्श, मानसिक स्वास्थ्य र मनोवैज्ञानिक परामर्श एवं फिजियोथेरापी जस्ता विधामा देखाएको तदारुकता उदाहरणीय छ।

यस अस्पतालको सेवाको गुणस्तर र प्रभावकारिता कतिसम्म बढेको छ भने, यो अब पथरी शनिश्चरे नगरभित्र मात्र सीमित छैन। छिमेकी स्थानीय तहहरू कानेपोखरी, सुनवर्षी, रतुवामाई, उर्लाबारी, लेटाङ र जाँते लगायतका क्षेत्रबाट समेत दैनिक ५ सयदेखि ६ सय जना बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्। मौसमी बिरामी र महामारीका समयमा त यो संख्या बढेर दैनिक ८ सयदेखि ९ सय जनासम्म पुग्ने गरेको छ। पूर्वी मोरङ र आसपासका क्षेत्रका लागि यो अस्पताल बिस्तारै एउटा भरपर्दो ’क्षेत्रीय स्वास्थ्य केन्द्र’ का रूपमा उदाउँदै गएको छ।

अस्पतालले स्थानीय स्तरमै विशिष्टीकृत सेवा दिनका लागि ठूला स्वास्थ्य संस्थाहरूसँग रणनीतिक साझेदारी समेत गरेको छ। विगत चार वर्षदेखि मदन भण्डारी ट्रमा सेन्टर (प्रादेशिक अस्पताल) सँगको सहकार्यमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरूले यहाँ नियमित रूपमा सेवा दिइरहेका छन्। जसले गर्दा जटिल प्रकृतिका रोगको निदान पनि स्थानीय स्तरमै सम्भव भएको छ।

त्यसैगरी, आँखा र कानको उपचारका लागि नेपालकै कहलिएको विराटनगर आँखा अस्पतालसँग सहकार्य गरेर दैनिक रूपमा गुणस्तरीय आँखा तथा कान उपचार सेवा सञ्चालन भइरहेको छ। यस्तो अन्तर–निकाय सहकार्यले गर्दा बिरामीहरूले विशेषज्ञ सेवाका लागि ठूला सहरका महँगा अस्पतालमा भौंतारिनुपर्ने र पालो पर्खिनुपर्ने सास्तीबाट पूर्ण रूपमा मुक्ति पाएका छन् ।

प्रविधि जतिसुकै अत्याधुनिक भए पनि यदि गरिबको पहुँचमा पुगेन भने त्यसको अर्थ रहँदैन। तर, पथरी नगर अस्पतालमा प्रविधि र गरिबको सम्बन्धलाई जोड्ने बलियो कडी बनेको छ– नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम। अस्पतालमा उपचारका लागि आउने कुल बिरामीमध्ये करिब ९२ प्रतिशत नागरिकले बिमाकै माध्यमबाट स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पताल परिसरमै २४ सै घण्टा उपलब्ध फार्मेसी सेवाले बिरामीलाई चिकित्सकले लेखेका औषधिहरू खोज्न बाहिर कुद्नुपर्ने बाध्यता हटाएको छ। यसले बिरामीको उपचार खर्चमा ठूलो कटौती मात्र गरेको छैन, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने परिवारका लागि यो अस्पताल एउटा ’आर्थिक रक्षाकवच’ साबित भएको छ।

चालु आर्थिक वर्ष २०८३ को जेठ मसान्तसम्मको तथ्याङ्कलाई मात्र हेर्ने हो भने पनि यो अस्पतालले धानेको मानवीय चापको चित्र छर्लङ्ग हुन्छ। यस अवधिमा १ लाख १५ हजार १०३ जना बिरामीले स्वास्थ्य बिमामार्फत आफ्नो उपचार गराएका छन् भने बिमाको दायरा बाहिर रहेका ८ हजार ११० जना नागरिकले पनि अस्पतालको भरपर्दो सेवा लिएका छन्।

यस ११ महिनाको अवधिमा अस्पतालले प्रवाह गरेको सेवाको  यसप्रकार छः

आकस्मिक सेवाः ३ हजार २८ जनाको आपतकालीन उद्धार र उपचार

बेड भर्ना सेवाः २६६ जना गम्भीर बिरामीलाई भर्ना गरेरै निको

डिजिटल एक्स–रेः १६ हजार ८८७ जनाले अत्याधुनिक एक्स–रे सेवा

भिडियो एक्स–रेः  ८ हजार ९६५ जनाको भिडियो एक्स–रे मार्फत रोगको पहिचान

मुटुको जाँचः १ हजार ३७९ जना बिरामीले आफ्नै नगरमा मुटुको अवस्था जाँच्ने दूर्लभ अवसर

यी तथ्याङ्कहरू केवल संख्या मात्र होइनन्, बरु हिजोका दिनमा सामान्य एक्स–रे वा मुटु जाँच्नकै लागि चर्को ब्याजमा ऋण काढेर विराटनगर वा धरानका निजी अस्पताल धाउनुपर्ने हजारौँ नेपालीको बचत र सुस्केराका कथाहरू हुन्। आज उच्च रक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगका बिरामीहरूले महिनौँपिच्छे लिने औषधि र परीक्षण यहीँ सम्भव भएपछि स्थानीयले समय, यातायात र उपचार खर्च गरी तीनै क्षेत्रमा लाखौँ रुपैयाँ बचत गरिरहेका छन्।

जनताको यो अभूतपूर्व विश्वास र अस्पतालको सेवाप्रतिको आकर्षणलाई देखेर नै अहिले स्थानीय समुदाय र स्थानीय सरकार यसको भौतिक पूर्वाधारलाई अझ विशाल बनाउन जुटेका छन्। तर, यो विशाल संरचनाको जगमा एउटा यस्तो निस्वार्थ कथा लुकेको छ, जसले मानवीय सेवाको एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ।

जब यो अस्पताललाई विस्तार गर्ने योजना बन्यो, तब सबैभन्दा ठूलो संकट जग्गाको थियो। ठ्याक्कै त्यही बेला संकटमोचक बनेर अगाडि सरे— स्थानीय समाजसेवी बाबुराम राई। उनले आफ्नो स्वामित्वमा रहेको ६ कठ्ठा बहुमूल्य जग्गा अस्पताल निर्माणका लागि बिना कुनै स्वार्थ दान गरिदिए। राईको यो अतुलनीय दानले अस्पताल निर्माणको बाटो मात्र खोलिदिएन, सिङ्गो नगरवासीलाई नै ’हाम्रो अस्पताल हामी आफैं बनाउनुपर्छ’ भन्ने सामूहिक भावना जागृत गरायो। अन्य स्थानीयवासीले पनि आफ्नो क्षमता अनुसार यस अभियानमा दरिलो साथ दिए।

समुदायको यही पवित्र भावना, दानवीरको त्याग र स्थानीय सरकारको दृढ इच्छाशक्तिको जगमा आज पथरीमा एउटा नयाँ इतिहास लेखिँदैछ। सोही जग्गामा ५० शैयाको आधुनिक अस्पताल भवन निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। गगनचुम्बी भौतिक संरचना मात्र होइन, यो भवन पूर्वी मोरङकै स्वास्थ्य क्रान्तिको नयाँ केन्द्र बन्नेछ। आगामी आर्थिक वर्षदेखि सम्पूर्ण सेवाहरू यही सुविधासम्पन्न नयाँ भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको छ। नयाँ भवनमा सरेपछि अहिले भइरहेको बिरामीको चाप व्यवस्थापन मात्र हुनेछैन, थप विशेषज्ञ सेवा, सुविधासम्पन्न वार्ड र आधुनिक प्रविधि भित्र्याएर सेवालाई अझ व्यापक र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

पथरी नगर अस्पतालको यो यात्रा केवल इँटा र सिमेन्टको भवन निर्माण वा सेवा विस्तारको कथा मात्र होइन, यो स्थानीय सरकार, अहोरात्र खटिने स्वास्थ्यकर्मी र नागरिकबीचको अभूतपूर्व सहकार्यले सम्भव बनाएको एउटा गौरवगाथा हो। अस्पताललाई यो उचाइसम्म ल्याइपु¥याउन जनप्रतिनिधिको दूरदर्शिता, चिकित्सक तथा स्वास्थ्यकर्मीको निष्ठा, जग्गादाताको उदारता र स्थानीय समुदायको अपनत्व उत्तिकै बलियो खम्बा बनेर उभिएका छन्।

तर, यात्रा यहाँ सकिँदैन, बरु एउटा नयाँ र जिम्मेवार मोडमा आइपुगेको छ। अबको मुख्य चुनौती भनेको यो आर्जित साखलाई जोगाइराख्नु र अस्पताललाई अझ बढी प्रभावकारी, व्यवस्थित तथा दिगो बनाउनु हो।

५० शैयाको नयाँ भवनमा सर्दै गर्दा र सेवाको दायरा अझ फराकिलो बन्दै जाँदा, अस्पताललाई प्रत्येक नागरिकको निरन्तर साथ र रचनात्मक सहयोगको खाँचो छ। किनभने, यो अस्पताल कुनै सरकारी निकाय मात्र होइन, हाम्रो साझा सम्पत्ति हो। यसको भौतिक संरक्षण, सरसफाइमा सचेतता, सेवाप्रति सकारात्मक दृष्टिकोण, स्वास्थ्य बिमा कार्यक्रमको व्यापक उपयोग र यसको चौतर्फी विकासमा हरेक नगरवासीले अपनत्व महसुस गर्न जरुरी छ। जब अस्पताल संस्थागत रूपमा बलियो र जनमुखी बन्छ, तब मात्र हाम्रा आगामी पुस्ताको स्वास्थ्य सुरक्षित हुनेछ, उपचार अझ सुलभ हुनेछ र बिरामी पर्दा लाग्ने आर्थिक भार कम हुनेछ।

पथरी नगर अस्पतालले छोटो समयमै ’असम्भव’ जस्तो देखिने स्वास्थ्य रूपान्तरणलाई सम्भव तुल्याएर देखाएको छ। हिजो उपचारका लागि सहर धाइने दिनहरू इतिहास बनिसकेका छन् र आज आफ्नै आँगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा नागरिकको मुहारमा हाँसो फर्किएको छ। स्वस्थ नागरिक नै समृद्ध र खुसी समाजको बलियो जग हुन्। पथरी नगर अस्पताल त्यो समृद्धिको यात्राको एउटा बलियो र भरपर्दो स्तम्भ बनिसकेको छ। अब यो गौरवलाई अक्षुण्ण राख्दै अझ चम्काउनु हामी सबैको साझा र पवित्र दायित्व हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।