लोड हुँदैछ...

मेनु

टाउकोभन्दा ठूलो ट्युमर बोकेर पीडामा छटपटाइरहेकी राधिकालाई सुनील शर्माको निःशुल्क उपचार सहयोग

टाउकोभन्दा ठूलो ट्युमर बोकेर पीडामा छटपटाइरहेकी राधिकालाई सुनील शर्माको निःशुल्क उपचार सहयोग

काठमाडौं / सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केही महिना निकै पीडादायी बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सामान्य गाँठो केही महिनामै असामान्य रूपमा बढ्दै गएर टाउकोभन्दा ठूलो ट्युमरमा परिणत भयो।

छ महिनाको अवधिमा ट्युमर तीव्र रूपमा बढेपछि राधिकालाई तत्काल उपचार आवश्यक थियो। तर कमजोर आर्थिक अवस्थाका कारण सुरेशका लागि उपचार सुरु गराउन सहज थिएन। विभिन्न माध्यमबाट सहयोग जुटाउँदै उनले श्रीमतीको पटक–पटक एमआरआई गराए। रोगको अवस्था पत्ता लागे पनि उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा राधिकाको पीडा बढ्दै गयो।

अस्पताल भर्ना गरेर उपचार सुरु गराउन नसकिरहेको अवस्थामा राधिकाको भिडियो सामाजिक सञ्जालमार्फत जेन–जी आन्दोलनकी साहसी उद्धारकर्ता किशोरी कार्कीको नजरमा पर्‍यो। उनले तत्काल काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन्।

जेन–जी आन्दोलनका क्रममा घाइते भएका सयौँ व्यक्तिको निःशुल्क उपचार तथा घाइतेका कुरुवाका लागि खानेबस्ने व्यवस्थासमेत मिलाएका शर्माको मानवीय पहलबाट प्रभावित कार्कीले राधिकाको अवस्थाबारे उनलाई जानकारी गराएकी थिइन्।राधिकाको अवस्था देखेपछि शर्माले लामो प्रक्रिया वा पर्खाइ नगरी तत्काल उपचारको जिम्मेवारी लिने निर्णय गरे। त्यसपछि काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स राधिकालाई लिन उनको पायक पर्ने स्थानमै पुग्यो।

सुरेश, राधिका र भर्खरै टुकुटुकु हिँड्न सिक्दै गरेको उनीहरूको सानो सन्तान उपचारको आशा बोकेर काठमाडौं मेडिकल कलेज दुवाकोट युनिट पुगे। अस्पताल पुग्नुअघि नै राधिकाको उपचारका लागि चिकित्सकसहितको टोली तयार भइसकेको थियो। खबर पाएको केही घण्टामै उनको आकस्मिक उपचार सुरु भयो।श्रीमतीको उपचार हुने सुनिश्चित भएपछि सुरेशको मन केही हल्का भयो। अस्पतालको बेडमा राधिकालाई सुताउँदै उनले भावुक हुँदै भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान सरह हुनुहुन्छ।’
राधिकालाई अस्पतालसम्म पुर्‍याउन पहल गर्ने किशोरी कार्कीप्रति पनि सुरेशको परिवारले आभार व्यक्त गरेको छ। उपचार निःशुल्क गराउने व्यवस्था मिलाइदिएकोमा सुरेशले सुनील शर्माप्रति खुलेर धन्यवाद व्यक्त गरे।

किशोरी कार्कीले पनि आफ्नो आग्रह स्वीकार गर्दै राधिकाको उपचारको जिम्मेवारी लिएकोमा शर्माप्रति हृदयदेखि आभार व्यक्त गरिन्। अहिले राधिकाको परिवारसहित उनलाई चिन्ने सबैको एउटै प्रार्थना छ— उनी पूर्ण रूपमा स्वस्थ भएर आफ्नो सानो सन्तानलाई काखमा खेलाउँदै, हाँस्दै र रमाउँदै घर फर्किऊन्।
राधिकाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, उनलाई अस्पतालसम्म पुर्‍याउन पहल गर्ने किशोरी कार्की र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन लागेकी एक आमाको जीवन बचाउन मानवीयताको हात बढाउने सुनील शर्माको यो पहलले उपचारसँगै आशा पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।