पथरी / पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले आफ्नो क्षेत्राधिकारभित्र रहेका विभिन्न सेवा प्रदायक कम्पनीका अव्यवस्थित तारलाई व्यवस्थापन गरी वडा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने अभियान सुरु गरेको छ ।
सोमबार वडा नं. १ का वडाध्यक्ष भीम राईको संयोजकत्व तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको विशेष उपस्थितिमा पथरी बजार क्षेत्रमा सञ्चालित विभिन्न इन्टरनेट तथा सञ्चार सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, युवा समाजसेवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । बजार क्षेत्रमा जथाभावी रूपमा रहेका तारका कारण सौन्दर्यमा असर पर्नुका साथै सुरक्षा जोखिमसमेत बढ्दै गएको विषयमा छलफल गर्दै तार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सहमति गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले सेवा प्रदायक कम्पनीहरूले आफ्ना तारलाई मापदण्डअनुसार व्यवस्थित गर्ने, आवश्यक समन्वय गर्दै बजार क्षेत्रलाई सुरक्षित र आकर्षक बनाउने तथा आगामी दिनमा एकीकृत रूपमा तार व्यवस्थापन अभियान सञ्चालन गर्ने विषयमा विभिन्न निर्णयहरू गरेका छन् ।
वडाध्यक्ष भीम राईले वडा कार्यालयले सरोकारवाला सबै पक्षसँग समन्वय गर्दै बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियानलाई निरन्तर अघि बढाउने बताउनुभयो। नगर प्रमुख मोहन प्रसाद तुम्वापोले पनि नगरको सौन्दर्य अभिवृद्धि र सुरक्षित पूर्वाधार निर्माणका लागि सबै सेवा प्रदायक कम्पनीहरूको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निर्णय कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।