लोड हुँदैछ...

मेनु

गुवाबारीका १२ होटलमा लेटाङ नगरपालिकाको अनुगमन

गुवाबारीका १२ होटलमा लेटाङ नगरपालिकाको अनुगमन

लेटाङ / लेटाङ नगरपालिका र उद्योग वाणिज्य संघ लेटाङले लेटाङ नगरपालिका–६, गुवाबारीस्थित १२ वटा होटल तथा व्यवसायिक प्रतिष्ठानमा मदिराजन्य तथा पेयपदार्थको कारोबारसम्बन्धी अनुगमन गरेको छ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा होटलहरूमा विभिन्न कैफियत भेटिएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा केही होटलमा आवश्यक दर्ता तथा कागजात अपुग हुनुका साथै राजस्वसमेत तिर्न बाँकी रहेको पाइएको छ।

त्यसैगरी, होटलमा मदिराजन्य तथा पेयपदार्थको खरिद–बिक्री खाता नराखिएको तथा ग्राहकले सहज रूपमा देख्ने गरी खाना र होटलका कोठा रेन्टको मूल्यसूची नराखिएको लगायतका कैफियतसमेत भेटिएको टोलीले जनाएको छ।

अनुगमनका क्रममा भेटिएका कैफियतलाई अभिलेखमा दर्ता गरी आवश्यक कागजात पूरा गर्न, खरिद–बिक्रीको व्यवस्थित अभिलेख राख्न तथा होटलमा खाना र कोठा रेन्टको स्पष्ट मूल्यसूची राख्न व्यवसायीहरूलाई सुझाव दिइएको छ।

लेटाङ नगरपालिकाकि उपप्रमुख कृष्ण कुमारी निरौलाको नेतृत्वमा गएको अनुगमन टोलीमा उद्योग वाणिज्य संघ लेटाङका प्रतिनिधि नेत्रप्रसाद निरौला, लेटाङ–६ का वडाध्यक्ष जंगवीर तामाङ, इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधि प्रहरी विष्णुबहादुर राउत, राजस्व शाखा प्रमुख सुष्मा काेईराला, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले व्यवसायीहरूलाई प्रचलित कानुनअनुसार आवश्यक दर्ता तथा नवीकरणका कागजात अद्यावधिक राख्न, तोकिएको राजस्व समयमै बुझाउन, खरिद–बिक्रीको अभिलेख व्यवस्थित राख्न तथा उपभोक्ताले सहज रूपमा देख्न सक्ने गरी खाना र कोठा रेन्टको मूल्यसूची राख्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।