लोड हुँदैछ...

मेनु

पथरी शनिश्चरे नगरवासीलाई नोबेलमा उपचार गर्दा विशेष छुट, अस्पताल र नगरपालिकाबिच सम्झौता

पथरी शनिश्चरे नगरवासीलाई नोबेलमा उपचार गर्दा विशेष छुट, अस्पताल र नगरपालिकाबिच सम्झौता

पथरी / पथरी शनिश्चरे नगरपालिकाका नगरवासीले अब नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। नगरवासीलाई उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नोबेल मेडिकल कलेजबीच सम्झौता भएको हो।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य तथा नोबेल मेडिकल कलेजका प्रतिनिधिबीच सम्झौतामा सहमति भएको हो।

सम्झौताअनुसार पथरी शनिश्चरे नगरपालिकामा बसोबास गर्ने नगरवासीले नगरपालिकाको सिफारिसका आधारमा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। त्यस्तै, काठमाडौं मेडिकल कलेज (केएमसी) अन्तर्गतका सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार नगरपालिकाबाट सिफारिस लिएर अस्पतालमा उपचारका लागि जाने नगरवासीले सम्झौताअनुसारको छुट प्राप्त गर्नेछन्। उपचारका क्रममा लाग्ने खर्चमा सहुलियत प्रदान गर्ने भएकाले यसबाट नगरवासीको स्वास्थ्य उपचारमा हुने आर्थिक भार केही कम हुने अपेक्षा गरिएको छ।

नगरपालिकाले स्वास्थ्यलाई नागरिकको आधारभूत आवश्यकताका रूपमा प्राथमिकतामा राख्दै निजी तथा प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरेर उपचारमा सहुलियतको व्यवस्था गरेको जनाएको छ। सम्झौताले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समेत विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार आगामी दिनमा नगरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने तथा उपचारमा थप सहुलियत उपलब्ध गराउने विषयमा अन्य स्वास्थ्य संस्थासँग समेत सहकार्यलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।