लोड हुँदैछ...

मेनु

भागीरथ माविमा भव्य विज्ञान प्रदर्शनी, १८ टोलीका विद्यार्थीले प्रस्तुत गरे मानव शरीर प्रणालीदेखि जलविद्युत्‌सम्मका वैज्ञानिक नमुना

भागीरथ माविमा भव्य विज्ञान प्रदर्शनी, १८ टोलीका विद्यार्थीले प्रस्तुत गरे मानव शरीर प्रणालीदेखि जलविद्युत्‌सम्मका वैज्ञानिक नमुना

पथरी / पथरी शनिश्चरे–४, मोरङस्थित भागीरथ माध्यमिक विद्यालयमा १४औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित बृहत् विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । ‘बालबालिकाको चाहना, समुन्नत भविष्यको थालनी’ भन्ने भावनासहित आयोजित प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले १८ टोलीमा विभाजित भएर विभिन्न वैज्ञानिक नमुना तथा प्रयोग प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरूले मानव शरीर प्रणाली, जलचक्र, आसवन प्रक्रिया, प्रकाश संश्लेषण प्रक्रिया, आलुबाट विद्युत् उत्पादन, जलविद्युत् उत्पादन लगायत विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न नमुना निर्माण गरी प्रदर्शन गरेका थिए । पाठ्यपुस्तकमा अध्ययन गरेका विषयलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता, सिर्जनशीलता, कलात्मक सिप तथा मेहनत प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले आफूले निर्माण गरेका नमुनाको कार्यप्रणालीबारे आगन्तुकलाई जानकारी दिनुका साथै विभिन्न वैज्ञानिक प्रक्रियाको व्याख्यासमेत गरेका थिए । यसले विज्ञान विषयको सिकाइलाई कक्षाकोठाबाट प्रयोग र व्यवहारसँग जोड्ने अवसर प्रदान गरेको थियो ।

प्रदर्शनी अवलोकन गर्न छिमेकी विद्यालय दुर्गा आधारभूत विद्यालय पथरी शनिश्चरे–८, आदर्श सीता आधारभूत विद्यालय पथरी शनिश्चरे–९, मिलन आधारभूत विद्यालय पथरी शनिश्चरे–८, सरस्वती आधारभूत विद्यालय पथरी शनिश्चरे–४, जनकल्याण आधारभूत विद्यालय पथरी शनिश्चरे–४ र स्मार्ट मन्टेश्वरी पथरी शनिश्चरे–९ का प्रधानाध्यापक, प्रतिनिधि शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । प्रदर्शनीमा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद मिश्र तथा सदस्यहरू, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष हरिकुमार शेर्मा लिम्बू तथा सदस्यलगायतको सक्रिय सहभागिता रहेको थियो ।

विद्यालयका विज्ञान शिक्षक तथा सहायक प्रधानाध्यापक शैलेन्द्र बस्नेतले विद्यार्थीले विज्ञानका सिद्धान्तलाई आफ्नै हातले नमुना बनाएर प्रयोगमार्फत प्रस्तुत गर्दा उनीहरूमा खोज, अनुसन्धान र वैज्ञानिक सोचको विकास हुनुका साथै सिकाइलाई व्यवहारसँग जोड्न सहज हुने बताउनुभयो । शिक्षक प्रतिनिधि चेतनाथ पौडेलले विज्ञान प्रदर्शनीले विद्यार्थीलाई आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिनुका साथै शिक्षक, अभिभावक र समुदायलाई विद्यार्थीको सिकाइ उपलब्धिसँग प्रत्यक्ष जोड्ने काम गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद मिश्रले विद्यार्थीहरूको प्रतिभा, मेहनत र सिर्जनशीलता प्रत्यक्ष रूपमा देख्न पाउनु गौरवको विषय भएको बताउँदै यस्ता प्रयोगात्मक कार्यक्रमलाई विद्यालयले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङले विज्ञान प्रदर्शनी विद्यार्थीले कक्षाकोठामा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै आफ्नै खोज, प्रयोग र सिर्जनशीलतामार्फत सिक्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले विद्यालयले यस्ता प्रयोगात्मक तथा सिर्जनात्मक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै, पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोकनाथ न्यौपानेले भागीरथ माध्यमिक विद्यालयका विद्यार्थीले विज्ञान प्रदर्शनीमार्फत आफ्नो प्रतिभा र प्रयोगात्मक क्षमताको राम्रो प्रदर्शन गरेको बताउँदै यस्ता सिर्जनात्मक गतिविधिलाई स्थानीय तहबाट समेत प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । प्रदर्शनीमा सहभागी कक्षा १० ‘बी’ का विद्यार्थी सचिन धिमाल ‘ए’ ले विज्ञानका विषयलाई पढेर मात्र नभई आफैँ नमुना बनाएर र प्रयोग गरेर प्रस्तुत गर्दा सिकाइ अझ रमाइलो, व्यावहारिक र प्रभावकारी हुने अनुभव भएको बताउनुभयो ।

विद्यालयका अनुसार प्रदर्शनीले विद्यार्थीमा वैज्ञानिक सोच, खोज तथा अनुसन्धानको भावना, सिर्जनशीलता, सहकार्य र प्रयोगात्मक सिकाइको विकास गर्न सहयोग पुगेको छ । विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा छिमेकी विद्यालयका प्रतिनिधिहरूको उत्साहजनक सहभागिताले प्रदर्शनीलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।