झापा / झापा क्षेत्र नं.५ मा पर्ने कमल गाउँपालिकामा नेपाली कांग्रेसको गाउँअधिवेशन चलिरहेका बेला अधिवेशनभन्दा विवाद चर्किएको छ । निर्धारित समयमा अधिवेशन हुन नसक्नु, त्यसपछि क्षेत्रीय प्रतिनिधि छनोटमा विवाद उत्पन्न हुनु र अन्ततः प्रतिस्पर्धामा रहेका गाउँसभापतिका उम्मेदवारसँग पारिवारिक सम्बन्ध भएकी व्यक्तिलाई मनोनीत प्रतिनिधि बनाइएको विषयले कांग्रेसभित्र असन्तुष्टि बढाएको छ ।
कमल गाउँपालिकाको अधिवेशन असोज ७ गते सम्पन्न गर्ने कार्यतालिका थियो । तर, सहमतिको प्रयास भन्दै अधिवेशन सारिएको छ । अधिवेशन सारिएपछि विवाद मिल्ने अपेक्षा गरिएको भए पनि प्रतिनिधि मनोनयनको विषयले विवाद झन् बल्झिएको छ।
विशेषगरी क्षेत्रीय सभापति ढुन्डिराज भण्डारीले मनोनयन गर्ने १० जना क्षेत्रीय प्रतिनिधिको सूची सार्वजनिक गर्ने समय र प्रक्रियामाथि प्रश्न उठेको छ । दाबी-विरोधको प्रक्रिया सकिएपछि मात्र मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको भन्दै कार्यकर्ताहरूले यसको आधार खोजेका छन् ।

विवादको सबैभन्दा संवेदनशील पक्ष भने गाउँ सभापतिका प्रत्याशी पदम निरौलाकी पत्नी रञ्जिताकुमारी दाहाललाई समेत क्षेत्रीय प्रतिनिधिमा मनोनयन गरिएको विषय बनेको छ । गाउँ सभापतिका लागि केदार कटुवाल र पदम निरौला प्रतिस्पर्धामा रहेका बेला उम्मेदवारकै परिवारका सदस्यलाई प्रतिनिधि बनाइनुले नेतृत्वको निष्पक्षता र निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ ।
मनोनयनको अधिकार क्षेत्रीय सभापतिलाई विधानले दिएको भए पनि अधिकार प्रयोग गर्ने क्रममा पारदर्शिता र प्रक्रिया स्पष्ट हुनुपर्ने माग उठेको छ । अधिकार छ भन्दैमा त्यसको प्रयोगमाथि प्रश्न उठ्नै नहुने भन्ने हुँदैन । अहिले कमल कांग्रेसमा असन्तुष्टिको मुख्य कारण केवल एक जना प्रतिनिधिको मनोनयन होइन । अधिवेशन सार्ने निर्णयदेखि प्रतिनिधि छनोटसम्मको सम्पूर्ण प्रक्रियामाथि कार्यकर्ताले जवाफ खोजिरहेका छन् ।
अब क्षेत्रीय सभापति भण्डारी र सम्बन्धित कांग्रेस नेतृत्वले १० जना प्रतिनिधिको मनोनयनको आधार, क्लस्टर, समय र विधानको प्रावधान सार्वजनिक गर्नुपर्ने माग उठेको छ ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।