लोड हुँदैछ...

मेनु

चाँदनी फाउन्डेसनको आयोजनामा रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला र शिक्षक सम्मान

चाँदनी फाउन्डेसनको आयोजनामा रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला र शिक्षक सम्मान

रङ्गेली / विश्व शिक्षक दिवसको अवसरमा मोरङको रङ्गेलीमा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरिएको छ। ‘शिक्षक सम्मानित भए, शिक्षा बलियो हुन्छ, शिक्षा बलियो भए, राष्ट्र समृद्ध हुन्छ’ भन्ने मूल नाराका साथ चाँदनी फाउन्डेसनले रङ्गेली नगरपालिका सभाहलमा कार्यक्रम आयोजना गरेको हो।

प्रतियोगितामा रङ्गेली नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत गरी १५ विद्यालयका विद्यार्थी सहभागी थिए। विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास र नेतृत्व सीप विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष प्रमेश्वर प्रसाद साहले बताए।

प्रतियोगितामा सहभागी विद्यार्थीले शिक्षकको भूमिका, शिक्षाको महत्व, राष्ट्र निर्माणमा शिक्षाको योगदान तथा विद्यार्थीको जिम्मेवारीलगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। उनीहरूले वक्तृत्वकलामार्फत आफ्ना विचार स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुलकी श्रेया कार्की प्रथम भइन्। मिनिल्याण्ड बोर्डिङ स्कुलकी साञ्ची निरौला द्वितीय, पब्लिक उच्च माध्यमिक विद्यालयका भास्कर साह तृतीय र माउन्ट मकालु बोर्डिङ स्कुलकी जानवी मण्डल सान्त्वना भइन्। विजेता विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल प्रदान गरिएको थियो।

कार्यक्रमका सभापति तथा फाउन्डेसनका अध्यक्ष साहले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासका लागि विद्यालय तहदेखि नै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिनुपर्ने बताए। वक्तृत्वकला लगायतका सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्न सिकाउनुका साथै आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक संघ रङ्गेलीका अध्यक्ष लक्ष्मी मेहताले शिक्षा र शिक्षकको सम्मान समाजको विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। विद्यार्थीको प्रतिभा विकासका लागि विद्यालय, शिक्षक, अभिभावक तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनले बताए।

विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रमुख अशोक झाले विद्यार्थीलाई शिक्षा र अनुशासनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए। विद्यालय तहमा आयोजना हुने सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य निशा श्रेष्ठ, चिरञ्जीवी काफ्ले, मनोजकुमार साह, जयनारायण साह, अभिषेक अधिकारी तथा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकालगायतको उपस्थिति थियो।साथै ३ जना रिटायर्ड शिक्षकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। सम्मानित हुनेमा क्रमस वीरेन्द्रकुमार साह,लक्ष्मी मेहतातथा सत्यनारायण साह रहेकि फाउन्डेसनका अध्यक्ष प्रमेश्वर प्रसाद शाहले बताए।

प्रतियोगिताको निर्णायक मण्डलमा चेतन पौडेल, मीनकुमार नवोदित, शैलेन्द्र थपलिया, रमेशचन्द्र अधिकारी र अभयकुमार राई रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।