लोड हुँदैछ...

मेनु

कांग्रेस केन्द्रीय सदस्यमा ३० वर्षीय मोजाहिद हकको उम्मेद्वारी घोषणा

कांग्रेस केन्द्रीय सदस्यमा ३० वर्षीय मोजाहिद हकको उम्मेद्वारी घोषणा

विराटनगर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित ३० वर्षीय युवा मोजाहिद हकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

विराटनगर–१७ निवासी हकले ३५ वर्षमुनिको युवा समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन्। कांग्रेसको संशोधित विधानले ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशमा एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। डेढ दशकदेखि कांग्रेसमा सक्रिय हक विद्यार्थी जीवनदेखि नै पार्टीका संगठनात्मक गतिविधिमा जोडिँदै आएका छन्। पार्टीका विभिन्न अभियान तथा सामाजिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने हकले युवा नेतृत्वमा सबै समुदायको अपनत्व सुनिश्चित गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्। “युवा केन्द्रीय सदस्यमा सबै समुदायको अपनत्व हुनुपर्छ भन्ने मान्यताका साथ मैले उम्मेदवारी दिएको हुँ,” उनले भने, “३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यका रूपमा निर्वाचित गराउन सबै महाधिवेशन प्रतिनिधिसँग सहयोगको अपिल गर्दछु।”

हक सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी लियो तथा लायन्स क्लब, करिब फाउन्डेसन, युथ युनिटी क्लब अफ नेपाल र फिड द निड नेपाल क्लबलगायत संस्थामार्फत विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन्। कांग्रेसले १५औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय संरचनामा युवा सहभागिता बढाउने उद्देश्यसहित ३५ वर्षमुनिका युवाका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था गरेको छ। महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने निर्वाचन कार्यतालिका कांग्रेसले सार्वजनिक गरिसकेको छ।

मोरङ–५ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि हकले युवाका मुद्दा, समुदायको प्रतिनिधित्व र सामाजिक सरोकारका विषयलाई पार्टीको केन्द्रीय तहमा उठाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।