काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ। वडा अधिवेशनबाट सुरु भएको प्रक्रिया पालिका र क्षेत्र हुँदै महाधिवेशन प्रतिनिधि छनोटतर्फ अघि बढेसँगै सभापति र पदाधिकारीका सम्भावित उम्मेदवारबारे कांग्रेसभित्र बहस चुलिएको हो। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदमा विशेष चासो देखिएको छ।
महामन्त्रीका लागि अहिले सबैभन्दा अगाडि कांग्रेस नेता डा. सुनीलकुमार शर्माको नाम चर्चामा आएको छ। शर्मासँगै वर्तमान महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा तथा केन्द्रीय सदस्य मधु आचार्यको नाम पनि महामन्त्रीका आकांक्षीका रूपमा चर्चामा छ। शर्माको राजनीतिक यात्रा भने लामो छ। २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्। पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ। फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
सभापतिमा गगनकुमार थापाको प्रतिस्पर्धीका रूपमा अहिलेसम्म कोही खुलेर मैदानमा आएका छैनन्। यस्तो अवस्थामा थापाको नेतृत्वलाई साथ दिँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन सक्ने महामन्त्रीका रूपमा शर्माको नाम पार्टी पंक्तिमा चर्चामा आएको छ। थापासँगको राजनीतिक सहकार्य, कार्यकर्तामाझको पहुँच र सामाजिक क्षेत्रमा गरेको सक्रियता शर्माको दाबीका मुख्य आधारका रूपमा हेरिएको छ।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।