काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गरेका छन्। यो कुल सदरमतको ८२ दशमलव २८ प्रतिशत हो।
शर्माको महाधिवेशन यात्रा वडा तहबाटै सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। वडा तहबाट सुरु भएको यात्रा क्षेत्रीय अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको हो।
मोरङ–३ बाट प्राप्त भारी मतसँगै कांग्रेसको आगामी नेतृत्वमा शर्माको भूमिकालाई लिएर पार्टीभित्र चासो बढेको छ। उनी १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताइँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनका विषयमा छलफल भइरहेका बेला शर्माले महामन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्।
स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीको केन्द्रीय राजनीतिक प्रक्रियामा रहँदै आएका छन्।
शर्माले राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा राख्दै आएका छन्। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहेर राजनीति गर्नुपर्ने उनको जोड छ।
वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको शर्मा नेतृत्वको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ। मोरङ–३ बाट प्राप्त ६५० मतले १५औँ महाधिवेशनमा उनको आगामी राजनीतिक भूमिकाप्रति थप चासो सिर्जना गरेको छ।



प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।