लोड हुँदैछ...

मेनु

प्रेस युनियनकर्मि  रामकुमार परियार कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

प्रेस युनियनकर्मि  रामकुमार परियार कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

मोरङ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट युवा नेता रामकुमार परियार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । पथरी शनिश्चरे नगरपालिका – ६ निवासी परियार दलित आरक्षण कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

दलित आरक्षणतर्फ उम्मेदवारी दिएका परियारलाई अन्य उम्मेदवारहरूले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको निर्विरोध निर्वाचित हुनुलाई लामो समयदेखि पार्टी संगठनमा पुर्‍याएको योगदान, निरन्तर सक्रियता र सहकर्मीहरूको विश्वाससँग जोडेर हेरिएको छ।

कुनै समय साइकलको घण्टी बजाउँदै र चप्पल लगाएर गाउँ–गाउँ डुल्दै नेविसंघको संगठन विस्तारमा जुटेका परियारको राजनीतिक यात्रा अहिले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको छ। उनको यो यात्रा व्यक्तिगत राजनीतिक उपलब्धिमा मात्र सीमित छैन, तल्लो तहबाट संगठन निर्माणमा खटिने कार्यकर्ताको निरन्तरता र समर्पणको उदाहरणसमेत बनेको छ।

२०५९ सालमा मंगल सिंह माविको नेपाल विद्यार्थी संघको इकाई सचिवबाट राजनीतिक यात्रा सुरु गरेका परियारले प्रारम्भिक दिनमा मोरङ क्षेत्र नं. २ अन्तर्गतका पाँचवटा गाविसमा साइकल चढेर नेविसंघको संगठन विस्तार गरेका थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा विभिन्न संगठनात्मक जिम्मेवारी हुँदै पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको हो।

२०७२ सालमा वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेपछि पनि उनले नेपाली कांग्रेससँगको आबद्धता र संगठनात्मक सक्रियतालाई निरन्तरता दिए। प्रवासमा नेपाली जनसम्पर्क समिति यूएई तथा अन्तर्राष्ट्रिय समितिमा आबद्ध भएर काम गरेका परियारले विदेशमा रहेका नेपालीहरूलाई संगठनसँग जोड्ने गतिविधिमा सहभागिता जनाएका थिए।

संगठनात्मक गतिविधिसँगै सूचना तथा सञ्चार क्षेत्रमा समेत सक्रिय परियारले २०७४ सालमा नेपाल प्रेस युनियनको वैदेशिक शाखा स्थापनामा भूमिका निर्वाह गर्दै सचिवको जिम्मेवारी सम्हालेका थिए। पत्रकारितामार्फत राजनीतिक तथा सामाजिक गतिविधिलाई जनतासमक्ष पुर्‍याउँदै आएका उनी संगठन र सञ्चार क्षेत्रलाई सँगसँगै अघि बढाउने व्यक्तित्वका रूपमा परिचित छन्।

विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव

परियारले आफ्नो राजनीतिक तथा संगठनात्मक यात्राका क्रममा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। उनी २०५९ सालमा नेपाल विद्यार्थी संघको इकाई सचिव र २०६१ सालमा नेविसंघ मोरङ जिल्ला सदस्य बनेका थिए ।

त्यसैगरी, २०७४ सालमा नेपाली जनसम्पर्क समिति यूएईको केन्द्रीय सदस्य तथा २०७६ सालमा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समिति (ग्लोबल) को केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका थिए।

२०७७ फागुनमा नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सूचना–प्रविधि विषय विज्ञका रूपमा मनोनित भएका परियार २०८० भदौमा नेपाली कांग्रेस मोरङको सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग सदस्यमा मनोनित भएका थिए। २०८१ माघमा उनी नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग सदस्यमा मनोनित भएका थिए।

यसैगरी, २०८३ भदौमा नेपाल प्रेस युनियन मोरङको प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका परियार २०८३ असोजमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। त्यसपछि क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्।

तल्लो तहको अनुभवदेखि केन्द्रीय प्रतिनिधित्वसम्म

दुई दशकभन्दा लामो संगठनात्मक अनुभव, विद्यार्थी राजनीतिदेखि पार्टीका विभिन्न तहमा काम गरेको अनुभव, प्रवासमा विकसित संगठनात्मक सम्बन्ध तथा सूचना–सञ्चार र प्रविधि क्षेत्रको ज्ञान परियारका राजनीतिक यात्राका महत्त्वपूर्ण पक्ष हुन्।

गाउँ–गाउँमा साइकल चढेर संगठन विस्तार गर्दै राजनीतिक यात्रा सुरु गरेका परियारको केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तल्लो तहमा रहेर काम गर्ने कार्यकर्ताका लागि प्रेरणाको विषय बनेको छ।

केन्द्रीय महाधिवेशनमा सहभागी हुने जिम्मेवारी पाएका परियारले अब पार्टीको नीति, नेतृत्व चयन र भावी दिशासम्बन्धी छलफलमा प्रतिनिधिका रूपमा सहभागिता जनाउनेछन्। उनको निर्विरोध निर्वाचित हुनुले लामो समयको संगठनात्मक सक्रियतासँगै पार्टीभित्रको सहमति र सहकार्यलाई पनि प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।